बनियानी । कचनकवल गाउँपालिकाको समग्र विकासका लागि स्थानीय जनप्रतिनिधि र नेताहरूले उच्च तहका राजनीतिक नेतृत्वसँग विशेष छलफल र पहलहरू सुरू गरेका छन्।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी ,उपाध्यक्ष नवराज भट्टराई ,निवर्तमान प्रदेशसभा सदस्य बसन्त कुमार बानियाँ ,कचनकवल वडा नं. ६ का अध्यक्ष तथा सरकारका प्रवक्ता चिन्तामणी खरेल र बनियानी प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडाको नेतृत्वमा कचनकवलको पूर्वाधार ,शिक्षा ,स्वास्थ्य ,पर्यटन ,वातावरण र कृषि उत्पादनमा सुधार ल्याउने योजनाहरू अघि बढाइएको छ।
यसक्रममा, पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतसँग विशेष भेटघाट गरि कचनकवलको आवश्यकताका विषयमा जानकारी गराइएको छ। त्यस्तै, राष्ट्रिय सभा सदस्य माननीय कृष्णप्रसाद सिटौलाको निवासमा भएको छलफलमा समग्र विकासका योजना र रणनीतिहरूमा थप विचार-विमर्श भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय बनियानीको प्रहरी भ्यान माग :
गाउँपालिकाको सुरक्षाको विषयलाई ध्यानमा राख्दै, इलाका प्रहरी कार्यालय बनियानीलाई तत्काल प्रहरी भ्यानको प्रबन्ध गर्नुपर्ने माग अघि सारिएको छ। यो विषयमा छलफल गर्न गाउँपालिकाको टोली भोलि गृहमन्त्री रमेश लेखकसँग भेटघाट गर्ने तयारीमा रहेको बनियानी प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडाले जानकारी दिएका छन्।
यो सक्रियता कचनकवलको दीर्घकालीन विकासका लागि निर्णायक पहलका रूपमा लिइएको छ। विभिन्न राजनीतिक दलका नेताहरूको सहकार्य र मन्त्रालयस्तरीय पहलहरूले समग्र विकासको गति थप तेज गरिने अपेक्षा गरिएको छ।